कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण र कार्यान्वयनलाई पारदर्शी तथा आवश्यकतामा आधारित बनाउने दाबी गर्दै आए पनि व्यवहारमा भने ठुलो सङ्ख्यामा साना तथा टुक्रे योजना राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन ।प्रदेश सरकारले आफैँ बनाएको मापदण्डविपरीत न्यून बजेटका योजना धेरै सङ्ख्यामा समावेश भएपछि बजेट विनियोजनको प्रक्रिया र त्यसमा हुने राजनीतिक प्रभावमाथि देखिएको छ ।
कमलवहादुर शाह नेतृत्वको अघिल्लो प्रदेश सरकारले २५ लाख रुपैयाँभन्दा कम लागतका आयोजना कार्यान्वयन नगर्ने तथा उपभोक्ता समितिमार्फत हुने कामलाई निरुत्साहित गर्ने नीति अघि सारेको थियो । बजेटमा भने ५ देखि १० लाख रुपैयाँसम्मका योजनाको सङ्ख्या ठुलो देखिएपछि नीति र कार्यान्वयनबिचको अन्तर दार्चुलाको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयअन्तर्गत रहेका योजनाको विवरणले देखाएको छ ।कार्यालयअन्तर्गत ४८८ योजना रहेकामा ४८४ वटा योजना १० लाख रुपैयाँभन्दा कम बजेटका छन् । १० लाख रुपैयाँभन्दा बढी बजेट भएका योजना चार वटामात्रै छन् । यसरी सयौँ योजना सानो रकममा विभाजन हुँदा बजेट छरिने र त्यसबाट ठोस उपलब्धि हासिल गर्न कठिन हुने देखिन्छ ।
दार्चुलाका नौ स्थानीय तहमध्ये शैल्यशिखर नगरपालिकामा मात्रै सिँचाइतर्फ २४४ वटा योजना समावेश गरिएको छ । सिँचाइ क्षेत्रका लागि करिब ३६ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको भए पनि खर्च भने १६.२१ प्रतिशतमा सीमित रहेको विवरण छ । ठुलो सङ्ख्यामा योजना राखिए पनि खर्चको गति कमजोर हुनुमा योजना छनोट, कार्यान्वयन क्षमता र अनुगमनबिचको समन्वय अभाव मुख्य कारण हुन सक्ने देखिन्छ ।
स्थानीयस्तरमा भने योजना छनोटमा राजनीतिक पहुँच र बिचौलियाको प्रभाव रहने गरेको आरोप लाग्दै आएको छ । प्रदेशबाट योजना पारिदिने नाममा आफूअनुकूल व्यक्तिलाई उपभोक्ता समितिमा राख्ने, योजनाको काम र भुक्तानी प्रक्रियामा प्रभाव पार्ने तथा कमिसनको चलखेल हुने गरेको आरोप स्थानीयले लगाएका छन् ।
स्थानीयका अनुसार कतिपय योजनामा काम सुरु हुनुअघि नै उपभोक्ता समिति गठनदेखि बिल मिलाउनेसम्मको सेटिङ हुने गरेको छ । केही योजनामा बजेटको ठुलो हिस्सा वास्तविक काममा खर्च नभई अन्यत्र जाने गरेको आरोपसमेत छ ।
धनगढीमा बसेर विभिन्न मन्त्रालय तथा राजनीतिक नेतृत्वसँग पहुँच बनाउँदै योजना बजेटमा पार्ने प्रयास हुने गरेको स्रोतको दाबी छ । सरकार परिवर्तन वा मन्त्री फेरबदलको समयमा आफ्नो पक्षका योजना बजेटमा समावेश गराउन बिचौलियाहरू सक्रिय हुने गरेको बताइन्छ ।
दार्चुला सिँचाइ डिभिजन कार्यालयमा एक इन्जिनियरसहित तीन जना प्राविधिक कर्मचारीमात्रै रहेको बताइएको छ। सयौँ योजनाको स्थलगत निरीक्षण, नापजाँच र गुणस्तर परीक्षण गर्न सीमित जनशक्तिका कारण कठिनाइ हुने गरेको कार्यालयका इन्जिनियरिङ अधिकृत मदनबहादुर भण्डारी बताउँछन् ।
उनका अनुसार योजनाको सङ्ख्या धेरै भएकाले सबै आयोजनामा नियमित रूपमा पुगेर प्राविधिक परीक्षण गर्न सहज छैन । यसले अनुगमन र गुणस्तरमा प्रश्न उठ्ने अवस्था सिर्जना गरेको छ ।
प्रदेशमा चालु आर्थिक वर्षको नयाँ बजेट निर्माणको तयारी भइरहेका बेला विगतको यस्तो प्रवृत्ति दोहोरिन नदिनुपर्ने आवाज उठेको छ । मुख्यमन्त्री खगराज भट्टले पनि योजना किनबेच हुने गरेको गुनासो सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आगामी बजेटमा पारदर्शिता कायम गर्ने, कमिसनको प्रभाव रोक्ने र एउटै स्थानमा आवश्यकता भन्दा बढी योजना नथुपार्ने सङ्केत दिएका छन् ।
‘नितिगत रुपमा भ्रष्टाचार कसरी हुन्छ भन्ने कुराको आकलन गछौँ, बजेटमा बेथिति कहाँ कहाँ बाट हुन्छ भन्ने कुरा खोज्छौ, बेचौलियाको प्रभाव बढ्ने आधार र कारण पनि पत्ता लगाएर निष्पक्षरुपमा कमिसन रहित बजेट बनाउँछौँ । विगतका जस्तो प्रवृति दोहोरिदैन,’ भट्टले भने । रातोपाटीबाट














