धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोसीमा आएको बाढीमा हराइरहेका सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको सुरक्षा समितिको बैठकमा निर्देशन दिँदै मुख्यमन्त्री भट्टले बाढीमा हराइरहेका नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका हुन ।
उनले खोज तथा उद्धारका लागि उपलब्ध सबै स्रोत–साधन र संयन्त्रको अधिकतम प्रयोग गर्दै सम्भव भएसम्मका सबै उपाय अवलम्बन गर्न निर्देशन दिए । साथै, सुदूरपश्चिम प्रदेशमा हुन सक्ने बाढी तथा अन्य विपद्को सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन र चनाखो बन्न समेत उनले निर्देशन दिए ।
बैठकमा नेपाल-भारत सीमामा देखिने समस्या तथा लागूऔषध नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्न पनि सुरक्षा निकायका प्रमुखहरूलाई मुख्यमन्त्री भट्टले निर्देशन दिए ।
यसैबीच, आज बिहान बसेको सुरक्षा समितिको बैठकले भोटेकोसी बाढीमा परेका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिममा बाढी तथा विपद्को सम्भावनालाई मध्यनजर गर्दै प्रदेशका सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र तयारी अवस्थामा राख्ने निर्णयसमेत बैठकले गरेको छ।














