धनगढी । धनगढी उपमहानगरपालिकाले ‘दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत छात्रवृत्तिका लागि आवेदन माग गरेको छ।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रमअनुसार माध्यमिक तह कक्षा ११ र १२ देखि स्नातक तहसम्म विज्ञान, शिक्षा, कानुन र कृषि विषय अध्ययनरत दलित विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउन आवेदन माग गरेको हो।
उपमहानगरपालिकाको सूचनाअनुसार २०८३ भदौ १६ गतेदेखि असोज १४ गतेसम्म कार्यालय समयभित्र आवेदन पेस गर्न सकिनेछ।
आवेदनका लागि कक्षा ११ र १२ का विद्यार्थीले एसईई/एसएलसी उत्तीर्ण गरेको ग्रेडसिट, चारित्रिक प्रमाणपत्र तथा प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ। स्नातक तहका विद्यार्थीले प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको ग्रेडसिट, चारित्रिक प्रमाणपत्र तथा प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउनुपर्नेछ।
त्यस्तै, नेपाली नागरिकता वा जन्मदर्ताको प्रमाणित प्रतिलिपि, जिल्ला प्रशासन कार्यालयबाट जारी दलित प्रमाणित पत्र, हाल अध्ययनरत विद्यालय/क्याम्पसबाट कक्षा, संकाय र विषय खुलेको सिफारिस पत्र तथा धनगढी उपमहानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित हुने कागजात आवश्यक पर्नेछ।
अन्य कुनै निकायबाट छात्रवृत्ति प्राप्त नगरेको व्यहोरा खुल्ने विद्यालय वा क्याम्पसको सिफारिससमेत आवेदनसँगै पेस गर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ।
छात्रवृत्तिसम्बन्धी थप जानकारीका लागि धनगढी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखामा सम्पर्क गर्न सकिनेछ।















