धनगढी। धनगढी उपमहानगरपालिकाले थारु/रानाथारु समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकाससम्बन्धी ऐन २०८३ र प्रचलित कानुनी व्यवस्थाबारे भलमन्साहरूलाई अभिमुखीकरण गरेको छ ।
उपमहानगरपालिकाले नगर सभाबाट स्वीकृत गरी राजपत्रमा प्रकाशित गरेको ‘थारु/रानाथारु समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकाससम्बन्धी ऐन २०८३’ का प्रावधान र भलमन्साको भूमिकाबारे जानकारी गराउने उद्देश्यले आइतबार एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १३ का भलमन्साहरूको सहभागिता रहेको थियो ।
अभिमुखीकरणमा भलमन्सा प्रथाको संरक्षण तथा विकास, भलमन्साको जिम्मेवारी र अधिकार, समुदायमा यसको भूमिकाका साथै ऐनमा व्यवस्था गरिएका कानुनी प्रावधानबारे जानकारी दिइएको थियो ।
उपमहानगरपालिकाले थारु/रानाथारु समुदायको परम्परागत सामाजिक संस्थाका रूपमा रहेको भलमन्सा प्रथालाई संरक्षण, व्यवस्थित र समयानुकूल विकास गर्न ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।














