धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी पार्टीका मन्त्रीहरूसँग बजेट तर्जुमा लगायत समसामयिक विषयमा महत्वपूर्ण छलफल गरेको छ ।
प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षतामा तथा पार्टी केन्द्रीय उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यमा भएको छलफलमा प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूको सहभागिता रहेको थियो ।
बैठकमा आगामी बजेट तर्जुमा, जनअपेक्षाअनुसार विकास निर्माणका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने, पार्टीको नीति तथा निर्देशनअनुसार सरकारका कामलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
छलफलमा सम्बन्धित जिल्लाका इन्चार्ज तथा अध्यक्षहरू र प्रदेश कमिटीका पदाधिकारीहरू समेत सहभागी थिए । बैठकमा प्रदेश सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउँदै जनताको आवश्यकता र प्राथमिकताका आधारमा बजेट तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिइएको बताइएको छ ।
एमालेले प्रदेश सरकारमा आफ्नो सहभागितालाई परिणाममुखी बनाउने र जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने विषयमा समेत छलफल गरेको जनाएको छ।














