काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनाको स्मरण गर्दै छानबिन प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।
मुभमेन्टका रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गरी सिफारिस कार्यान्वयन गर्न माग गरिएको छ।
आन्दोलनका क्रममा हिंसा, मुठभेड तथा राज्य र नागरिकबीच द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने मुभमेन्टको माग छ। भदौ २४ गते भएका आगजनी, तोडफोड तथा सार्वजनिक–निजी सम्पत्तिको क्षतिबारे पनि निष्पक्ष अनुसन्धान गर्न आग्रह गरिएको छ।
आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका तर गम्भीर अपराधमा संलग्न नभएका नागरिक तथा युवालाई तत्काल रिहा गर्न माग गर्दै मुभमेन्टले सामूहिक दण्ड र प्रतिशोध स्वीकार्य नहुने जनाएको छ।
सरकार र संसद्लाई चेतावनी
मुभमेन्टले सरकार र प्रतिनिधिसभालाई जनताको आवाज सुन्न तथा समयमै ‘सही ट्र्याकमा फर्किन’ चेतावनी दिएको छ। आन्दोलनको उद्देश्य कुनै व्यक्ति वा दलविरुद्ध नभई अन्याय, दण्डहीनता, भ्रष्टाचार, अपारदर्शिता र नागरिक अधिकारमाथिको हस्तक्षेपविरुद्ध रहेको हमालले बताएका छन्।
सरकार परिवर्तन हुँदैमा आन्दोलनका उद्देश्य समाप्त भएको ठान्नु गम्भीर भूल हुने भन्दै उनले दोषीमाथि कारबाही, निर्दोषको रिहाइ र छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।
दीप प्रज्ज्वलनको आह्वान
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भदौ २३ गते काठमाडौंको बानेश्वरमा शहीद परिवार तथा घाइतेहरूको सहभागितामा हुने कार्यक्रममा सहभागी हुन मुभमेन्टले युवाहरू तथा नागरिकलाई अपिल गरेको छ। देशभर पनि दीप प्रज्ज्वलन गरी शहीदहरूको स्मरण गर्न आह्वान गरिएको छ।















