धनगढी । कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरस्थित कैलारी आधारभूत अस्पताल सञ्चालनमा आएपछि सेवाग्राहीको संख्या बढ्दै गएको छ। अस्पताल सञ्चालनमा आएको एक महिनाको अवधिमै १ हजार २ सय बिरामीले विभिन्न स्वास्थ्य सेवा लिएको निमित्त अस्पताल प्रमुख बलबहादुर धानुकले जानकारी दिए।

उनका अनुसार अस्पतालबाट हालसम्म ७ जनाले प्रसूति सेवा लिएका छन् भने जटिल प्रकृतिका ३ वटा प्रसूति केसलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ।
अस्पतालमा हाल ओपीडी, फार्मेसी, प्रयोगशाला, ईसीजी तथा २४ घण्टे प्रसूति सेवा सञ्चालनमा रहेको धानुकले बताए। सेवाग्राहीको चाप बढ्दै गएकाले सेवा प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको उनको भनाइ छ।
हाल अस्पतालमा मेडिकल अधिकृत १ जना, जनस्वास्थ्य निरीक्षक ३ जना, सिनियर अहेव २ जना, सिनियर अनमी अधिकृत ४ जना, ल्याब टेक्निसियन/असिस्टेन्ट ४ जना, स्वीपर २ जना र सेक्युरिटी गार्ड १ जना गरी १८ जना कर्मचारी कार्यरत छन्। आवश्यक जनशक्ति थप गर्न रिक्त दरबन्दीमा भर्ना प्रक्रिया अघि बढाइने धानुकले बताए।
१५ शय्याको उक्त अस्पताल संघीय सरकारअन्तर्गत करिब २४ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। अस्पताल २०८३ साल साउन २० गते कैलारी गाउँपालिकाका अध्यक्ष राज समज चौधरीले उद्घाटन गरेका थिए । उद्घाटनपछि अस्पताल सञ्चालनमा आए पनि जनशक्ति तथा अन्य व्यवस्थापनका काम अझै बाँकी रहेको अस्पताल प्रमुख धानुकले बताए।
अस्पताल सञ्चालनमा आएपछि कैलारी गाउँपालिकाका ९ वटै वडाका नागरिक लाभान्वित भएका छन्। यसअघि सामान्य उपचारका लागि समेत लामो दूरी तय गरी धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुग्नुपर्ने बाध्यता स्थानीयको थियो।
अस्पतालका मेडिकल अधिकृत राजु चौधरीले अस्पतालले आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रूपमा प्रदान गरिरहेको बताए।
सञ्चालनमा आएको एक महिना मात्रै भए पनि बिरामीको चाप बढ्दै गएको र आफ्नै क्षेत्रमा अस्पतालको सेवा पाउँदा स्थानीय खुसी रहेको उनको भनाइ छ।
स्थानीय प्रेमदेवी चौधरीले अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि धनगढी जानुपर्ने बाध्यता हटेको बताइन्।
“पहिला उपचारका लागि धेरै टाढा धनगढी जानुपर्थ्यो। समय र खर्च दुवै बढी लाग्थ्यो,” उनले भनिन्, “अहिले आफ्नै क्षेत्रमा अस्पताल भएपछि निकै सहज भएको छ।”














