धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालीहरूको महान् चाड बडादशैं-२०८३ ले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
बडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली र सुदूरपश्चिम प्रदेशवासीमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री भट्टले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।
उनले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने बडादशैंले सबैमा सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्री भट्टले मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्दै समुन्नत, समृद्ध र आत्मनिर्भर सुदूरपश्चिम प्रदेश निर्माण गर्ने साझा सङ्कल्पलाई बडादशैंले थप ऊर्जा र प्रेरणा प्रदान गर्ने अपेक्षा गरेका छन् ।
त्यस्तै, पर्वले सबै नेपालीमा आपसी प्रेम, भाइचारा, सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणका लागि एकजुट भएर अघि बढ्न प्रेरित गर्ने उनले बताएका छन् ।
दुर्गाभवानीको आशीर्वादले सबैमा सुख, शान्ति र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्दै मुख्यमन्त्री भट्टले सम्पूर्ण नेपालीको घरआँगनमा हर्षोल्लास छाओस् र हरेक परिवारमा सुख, शान्ति तथा समृद्धिको उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् ।























