धनगढी । बडादसैँको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर टीका, जमरा लगाउने र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ ।
विजयादशमीका दिन घरपरिवारका सदस्यसँग टीका लगाएपछि आजदेखि टाढा रहेका आफन्त र मान्यजनको घरमा पुगेर दसैँको शुभकामना साटासाट गर्ने तथा आशीर्वाद लिने चलन छ । विशेषगरी टाढा रहेका आफन्तसँग भेटघाट गर्न र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउन दसैँको टीकाले महत्वपूर्ण अवसर प्रदान गर्ने गर्दछ।
नेपाली समाजमा दसैँको टीका लगाउने परम्परा स्थानअनुसार फरक-फरक रहेको छ । कतिपय ठाउँमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन छ भने धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा रहिआएको छ ।
नवदुर्गा भवानीको प्रसादका रूपमा लिइने टीका र जमरा लगाएर मान्यजनबाट सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको आशीर्वाद लिने धार्मिक तथा सांस्कृतिक मान्यता छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कोजाग्रत पूर्णिमासम्म दसैँको टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न सकिन्छ ।
दसैँलाई पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र सामाजिक एकताको पर्वका रूपमा समेत लिने गरिन्छ ।























