काठमाडौँ । बडादसैँको टीकाको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका, जमरा र आशीर्वाद लिने क्रम जारी छ । विजयादशमीका दिन टीका लगाउन नपाएकाहरू आफन्त तथा परिवारजनकहाँ पुगेर दसैँको शुभकामना आदानप्रदान गरिरहेका छन् ।
नेपाली समाजमा दसैँलाई पारिवारिक भेटघाट, आपसी सद्भाव र सम्बन्ध नवीकरण गर्ने महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ । यही अवसरमा टाढा रहेका आफन्तसमेत एकै ठाउँमा भेला हुने र ज्येष्ठ सदस्यबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ ।
विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने परम्परा आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्छ । दसैँले परिवार तथा आफन्तबीचको आत्मीयता बढाउनुका साथै सामाजिक एकता, भाइचारा र सद्भावलाई बलियो बनाउने विश्वास गरिन्छ ।
टीका लगाउन तथा आफन्त भेट्न जानेहरूको चहलपहलले सहर बजार र सडकमा सर्वसाधारणको आवागमन बढेको छ । दसैँ मनाउन विभिन्न सहर तथा सदरमुकामबाट घर गएकाहरू भने बिदा सकिन थालेसँगै आफ्नो कर्मथलो र गन्तव्यतर्फ फर्किनसमेत थालेका छन् ।























