धनगढी । धनगढी उपमहानगरपालिका–१३ स्थित निङ्लासैनी देवी मन्दिरमा वडा दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै मन्दिरको १९औँ साधारण सभा सम्पन्न भएको छ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री टेकबहादुर रैका, पूर्वउद्योग, वन तथा वातावरणमन्त्री रमेश धामी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्वमन्त्री धामीले निङ्लासैनी देवी मन्दिरलाई आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सबै पक्ष लाग्नुपर्ने बताए। मन्दिर हुनु मात्रै पर्याप्त नभएको उल्लेख गर्दै उनले यस क्षेत्रलाई पर्यटनका दृष्टिले विकास गर्न आवश्यक पूर्वाधार तथा गतिविधि विस्तारमा आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
उनले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका यस्ता स्थलको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीय क्षेत्रको पहिचान स्थापित हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।
साधारण सभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रराज अवस्थीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनअनुसार मन्दिरको संरक्षण, धार्मिक गतिविधिको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास भइरहेको छ।
मन्दिरमा भक्तजनले गर्ने पूजापाठ, विवाहलगायतका धार्मिक कार्यबाट प्राप्त आम्दानी र सहयोग रकमलाई मन्दिरको दीर्घकालीन व्यवस्थापनमा उपयोग गर्ने उद्देश्य राखिएको छ। मन्दिरको अक्षय कोषमा रहेको रकम वृद्धि गरी त्यसबाट प्राप्त ब्याजमार्फत वार्षिक पूजा तथा अन्य धार्मिक कार्यको खर्च व्यवस्थापन गर्ने लक्ष्यसमेत राखिएको छ।
कार्यक्रममा मन्दिरको वर्तमान अवस्था, भावी योजना, आर्थिक पारदर्शिता तथा धार्मिक पर्यटनको सम्भावनाबारे छलफल गरिएको थियो। सहभागीहरूले निडलासैनी देवी मन्दिरको धार्मिक महत्त्वलाई संरक्षण गर्दै यस क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका थिए।
मन्दिर व्यवस्थापन समितिले आगामी दिनमा मन्दिरको संरक्षण, विकास तथा प्रवर्द्धनका लागि स्थानीय समुदाय, जनप्रतिनिधि र सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ।























