धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-७ स्थित देवहरिया वनस्पति उद्यान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
पछिल्लो समय उद्यानलाई अवलोकन गर्नेहरूको चहलपहल बढ्न थालेको हो ।
वनस्पति अनुसन्धान केन्द्रका प्रमुख मदनराज भट्टका अनुसार यस वर्षको दसैंको समयमा मात्रै दुई हजार छ जनाले उद्यान अवलोकन गरेका छन् ।
यस वर्षको दसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा १० वर्षमाथिका एक हजार ९ सय १३ जना,१० वर्षमुनिका ५७ जना,३२ जना विद्यार्थी र ४ जना ज्येष्ठ नागरिकले उद्यानको अवलोकन गरेको उनले जानकारी दिए ।
सो अवधिमा अवलोकनकर्ताबाट प्रवेश शुल्कबाफत रु ३९ हजार १७० राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
केन्द्र प्रमुख भट्टका अनुसार १० वर्षमुनिका बालबालिका र विद्यार्थीलाई रु १०,ज्येष्ठ नागरिकलाई रु पाँच तथा १० वर्षमाथिकालाई प्रतिव्यक्ति रु २० प्रवेश शुल्क निर्धारण गरिएको छ ।
करिब १४९ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको देवहरिया वनस्पति उद्यानमा विभिन्न प्रजातिका वनस्पतिको संरक्षण, अनुसन्धान तथा अध्ययन हुँदै आएको छ ।
उद्यानमा चुरे र तराई क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पति संरक्षण गरिँदै आएको केन्द्र प्रमुख भट्टले बताए ।
वनस्पतिको संरक्षण र अनुसन्धानका साथै प्राकृतिक सौन्दर्यका कारण पनि उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । उद्यान क्षेत्रमा जाखोर ताल, मुरफुट्टा र मुरफुट्टी गरी करिब १७ हेक्टर क्षेत्रफलमा ताल रहेका छन् ।
वनस्पति तथा जैविक विविधताको संरक्षणसँगै प्राकृतिक वातावरणमा रमाउन चाहने आन्तरिक पर्यटकका लागि देवहरिया वनस्पति उद्यान महत्वपूर्ण गन्तव्यका रूपमा रहेको छ ।























