रमेश केसी
धनगढी । सुदूरपश्चिम प्रदेशमा पर्वतीय पर्यटनको सम्भावना पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले दार्चुलास्थित नाम्पा हिमाल बेस क्याम्प पुग्ने पदमार्गको पुनः अध्ययन गरिएको छ ।
नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा दार्चुलाको व्याँस गाउँपालिकाको समन्वयमा हिमालहरूको तथ्यांक संकलन र पदमार्गको अवस्थाबारे अध्ययन गरिएको हो । गत असोज २६ गते अनुगमनका लागि प्रस्थान गरेको अध्ययन टोली धनगढी फर्किएको छ ।
अध्ययन टोलीमा संघका पदाधिकारी, फोटोग्राफर, भिडियोग्राफर, प्राविधिक, स्थानीय पत्रकार तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधि सहभागी थिए ।
अभियानका क्रममा सुदूरपश्चिम प्रदेशमा रहेका ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको तथ्यांक संकलन गर्नुका साथै तिनको शिखरको विवरण (पिक प्रोफाइल) तयार पार्ने आधार निर्माण गरिएको संघले जनाएको छ । यस्तै, नाम्पा हिमाल बेस क्याम्प पुग्ने पदमार्गको वर्तमान अवस्थाबारे पुनः अध्ययन गरिएको छ ।
अध्ययनले पदयात्राका क्रममा देखिने सम्भावना, चुनौती तथा पर्यटन पूर्वाधार विकासका आवश्यकताहरू पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष किशोर खड्काले प्रदेशका हिमालहरूको पहिचान, अध्ययन र प्रवर्द्धनका लागि यस्ता अभियानलाई निरन्तरता दिइने बताए ।
‘सुदूरपश्चिममा पर्वतीय तथा साहसिक पर्यटनको ठूलो सम्भावना छ । यहाँका हिमालहरूको यथार्थ विवरण संकलन गर्ने, शिखरको प्रोफाइल तयार पार्ने र बेस क्याम्पसम्म पुग्ने पदमार्गको पुनः अध्ययन गर्ने कामले पर्यटन विकासको आधार तयार गर्छ,’ उनले भने, ‘हिमालको पहिचान र संरक्षणसँगै तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सम्बन्धित निकायबीच सहकार्य आवश्यक छ ।’
संघले आगामी दिनमा सुदूरपश्चिमका अन्य ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको विवरण तयार पार्ने तथा प्रमुख बेस क्याम्पसम्म पुग्ने पदमार्गको पुनः अध्ययन गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।
व्यवस्थित तथ्यांक संकलन, पदमार्गको पहिचान र आवश्यक पूर्वाधार विकासले प्रदेशमा पदयात्रा, पर्वतारोहण तथा साहसिक पर्यटन विस्तारमा मद्दत पुग्ने संघको विश्वास छ ।
दार्चुलाको व्याँस क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली भूगोल र पदयात्राका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यस क्षेत्रको व्यवस्थित अध्ययन र प्रचारप्रसार गर्न सके स्थानीयस्तरमा पर्यटन गतिविधि विस्तार हुनुका साथै रोजगारी र आयआर्जनका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
अभियान सफल बनाउन सहयोग गर्ने व्याँस गाउँपालिका, सम्बन्धित निकाय तथा स्थानीय समुदायप्रति संघले आभार व्यक्त गरेको छ ।
हिमालको अध्ययन, संरक्षण र प्रवर्द्धनका लागि नेपाल पर्वतारोहण संघको केन्द्रीय समिति, नेपाल पर्यटन बोर्ड, प्रदेश सरकारका पर्यटनसम्बन्धी निकाय, स्थानीय तह, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा विषयविज्ञसँग सहकार्य गर्न पनि संघले आग्रह गरेको छ ।























