काठमाडौँ । पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध नेपाल पत्रकार महासंघको नेतृत्वमा माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।
निरन्तरको झरीका बीच प्रेस स्वतन्त्रता सुनिश्चितताको माग गर्दै पत्रकारहरुले मौन प्रदर्शन गरेका हुन् । शुक्रबार साँझ सादा पोसाकका प्रहरीले विभिन्न सञ्चारगृहमा गएर पत्रकारलाई नियन्त्रणमा लिएका थिए ।
प्रहरीले पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।
पत्रकार पक्राउ परेपछि विभिन्न सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूले विरोध जनाएका थिए । घटनाको चौतर्फी आलोचना भएपछि राति नै सबैलाई रिहा गरिएको थियो ।























