धनगढी– कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार प्रकाश देउवाले गठबन्धनलाई जिताएर विकास गर्ने जिम्मेवारी दिन मतदातालाई आग्रह गरेका छन् ।
चुनावी प्रचार–प्रसारका क्रममा शनिबार धनगढीका विभिन्न ठाउँमा आयोजित चुनावी टोल सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जिताएर प्रदेश सभामा पुगे जनचाहाना अनुसार काम गरेर देखाउने बताए । ‘म यहाँका समस्याका बारेमा जानकार छु’ उनले भने, ‘ती समस्या समाधान गर्ने अवसर पाउनुपर्छ । त्यसका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ । जिताउने जिम्मा तपाइहरुको विकास गर्ने जिम्मा हाम्रो ।’
जनताको चाहाना अनुसार काम गर्ने वातावरण सृजना गर्न सरकारमा गठबन्धनको बहुमत हुनुपर्ने उनले बताए । त्यसका लागि जनतालाई भारी मतका साथ गठबन्धलाई जिताउनुपर्ने बताए ।
‘विभिन्न बाहाना बनाएर अन्य दलहरु पनि भोट माग्न आउलान्’ उनले भने, ‘तर भोट गठबन्धनलाई मात्रै दिनुहोला । देशको विकास र समृद्धिको जिम्मेवारी गठबन्धनले लिएको छ ।’ गठबन्धनका उम्मेदवार अहिले चुनावी प्रचार प्रसारका लागि मतदाता भेटघाट र टोल सभा गरिरहेका छन् ।














