अंकुश कुँवर
धनगढी– सत्ता गठबन्धन दलबीचको सहमति अनुसार अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पद एकीकृत समाजबादीको भागमा परेपछि प्रदेशसभाका दुई क्षेत्र नेपाली कांग्रेस र नेकपा माओबादीलाई भाग पर्यो ।
सोही सम्झौता अनुसार प्रदेश ‘क’ नेपाली कांग्रेस र ‘ख’ नेकपा माओबादी केन्द्रको भागमा परेको छ । यसमध्ये प्रदेश ‘क’मा नेपाली कांग्रेसबाट मेघराज खड्का उम्मेदवार छन् । नेपाली कांग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका खड्का तेस्रो पटक चुनाव लड्दैछन् । उनी २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा सदस्य पदमा चुनाव लडे । तर दुबै पटक उनी पराजित भए ।
०७० को संविधानसभा निर्वाचनमा एमालेका भीम रावलसँग पराजित भएका उनी ०७४ को प्रदेशसभा निर्वाचनमा रावलकै भिनाजु एमालेका गोविन्द कुँवरसँग झिनो मतान्तरले पराजित भए। प्रदेश सभा चुृनाव लड्दा उनी बाम गठबन्धनको चेपुवामा परे ।
यसपटक उनका लागि सहज देखिएको छ । निष्ठावान राजनीतिज्ञको छवि बनाएका खड्काले दुई पटक चुनाव हारेका कारण यसपटक सहानुभूतिको मत पाइहाल्थे नै त्यसैमाथि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बनेपछि उनलाई थप सहज भएको छ । तेस्रो पटकमा मौकामा चौका हान्न उनको तयारी छ ।
उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्रसमेत हुन् । चुनाव सम्पन्न नहुँदै उनलाई सुदूरपश्चिम प्रदेशको सम्भावित मुख्यमन्त्रीको रुपमासमेत हेरिन थालिएको छ । प्रदेश ‘क’का दुबैं पालिका कांग्रेसले जितेको र त्यसैमा गठबन्धनसमेत भएकाले यसपटक आफू चुनाव जित्नेमा ढुक्क भएको खड्को दाबी छ। उनका मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका देवबहादुर कुँवर छन् ।
यस्तै प्रदेश ‘ख’मा गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका झपट साउँद उम्मेदवार छन् । उनी ०६४ को संविधानसभा निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवार शेरबहादुर कँवरसँग पराजित भएका थिए। कुँवर अहिले गठबन्धनकै तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार छन् ।
साउँद यसपटक भने एमालेका पुराना नेता कृष्णप्रसाद जैशी प्रतिस्पर्धा गर्दैछन्। गठबन्धन भएका कारण यसपटक आफ्नो जित सुनिश्चित भएको भएको उनको दाबी छ ।














