काठमाडौं- निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र १ महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।
‘आचारसंहिता विपरीत काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो,’ उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरूलाई पटक–पटक चेतावनी दिँदा समेत अटेर गरेपछि कारबाही गरिएको हो ।’ प्रवक्ता राईका अनुसार अनुसार कारबाही पर्नेमा प्रदेश नम्बर १ मा ४८, काठमाडौं उपत्यकामा १ र बागमती प्रदेशमा ५ रहेका छन् ।
गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ७ छन् । काठमाडौं उपत्यकासहित ७ प्रदेशमा १ लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल १ लाख १४ हजार ८७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार २४८ र महिला ३० हजार ६२९ छन् ।













