काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टि–२० लिगको एक टोलीले आफ्नो नाम अन्तिम समयमा आएर फिर्ता लिएको छ । ज्ञानेन्द्र मल्ल मार्की खेलाडी रहेको काठमाडौं गोर्खाजले प्रतियोगिताबाट नाम फिर्ता लिएको हो ।
क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले काठमाडौं गोर्खाजले मंगलबार मात्रै आफुले प्रतियोगितामा भाग लिन नसक्ने भन्दै नाम फिर्ता लिएको बताएका छन् । अब काठमाडौं गोर्खाजको स्थानमा अर्को टोली समावेश गर्नुपर्ने हुन्छ उनले भने । अर्को टोलीको समावेश गर्नका लागि आइसीसीबाट स्विकृति लिनुपर्ने भएकाले प्रतियोगिता केही दिन धकेलिने पनि बताए । काठमाडौं गोर्खाजले अदालतमा नेपाल टि–२० लिगका विषयमा मुद्दा विचाराधिन रहेकाले प्रतियोगितामा सहभागि जनाउन नसक्ने भनिएको छ ।
नेपाल टि–२० लिगको तयारी भइरहेको छ कार्यवहाक सचिव मल्लले भने । इपिएल र यसमा सहभागि टोलीले प्रतियोगिता आयोजना गर्नका लागि भारतीय कम्पनीबिचको सम्झौता नेपाली कानुन अनुसार नभएको भन्दै स्टे अर्डरको माग राख्दै मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले उक्त रिटमा स्टे अर्डर नदिएकाले प्रतियोगिताको तयारी अगाडी बढेको थियो ।
यसअघि असोजमा प्रतियोगिता हुने भनिएको थियो । मंसिरको चुनावका भएकाले सुरक्षाको कारणले प्रतियोगिता सारिएको थियो।
काठमाडौंसँगै लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय छ । क्यानले लिगका लागि नेपाली र विदेशी खेलाडीको ड्राफ्ट पनि गरिसकेको छ ।













