बाजुरा- बाजुरामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दिउँसो कोल्टीदेखि मार्तडीका लागि छुटेको यात्रुवाहक जिप बिरसैन नजिकै पल्टिँदा सात जना घाइते भएका हुन् ।
लु १ ज ४०३५ नम्मरको जिप बुढीनन्दा नगरपालिका– ५, बिरसैनमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा १० जना सवार थिए । त्यसमध्ये सात जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायब निरीक्षक कृष्णदत्त भट्टले जिपमा सवार १० जनामध्ये सात जना घाइते भएको जानकारी दिए ।
घाइते हुनेमा हुम्लाको सर्केगाडका ४५ वर्षीय कालीबहादुर बुढा, सोही ठाउँका २२ वर्षीय भैर बुढा, हुम्ला सिमीकोट २ का ४१ वर्षिय रन बुढा, मुगुको श्रीकोटका २७ वर्षीया ललिता रोकाया, सोही ठाउँका २५ वर्षीय भीमबहादुर बानिँया, मुगु तिन रोलका ३५ वर्षीय गोरखबहादुर रोकाया र बुढीनन्दा नगरपालिका १० का ४५ वर्षीय जित ल्वार रहेका छन् ।
घाइते सबै जनाको अहिले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।













