काठमाडौं- नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य यस वर्षकै उच्च हो ।
गत वर्ष (२०७८) फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको रेकर्ड छ । सो दिन प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता घट्दै गएको मूल्य ९१ हजार रुपैयाँसम्म झरेको थियो ।
मूल्य पुनः उकालो लागेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाउन सक्ने संकेत देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च प्रतितोला १ हजार ४५० रुपैयाँसम्म पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।













