विराटनगर – अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिबाट उदाएका हिक्मतकुमार कार्कीले प्रदेश १ को सत्ता सम्हालेका छन्। उनी प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
एमाले विभाजनको शृङ्खलामा प्रदेश १ ले पहिलो कार्यकालमा तीनजना मुख्यमन्त्री पाइसकेको छ। झापा गौरादहका कार्की चौथो मुख्यमन्त्रीको रूपमा दोस्रो कार्यकालका लागि प्रदेश १ को सत्ताको बागडोर सम्हाल्दै छन्।
अनेरास्ववियुका विभिन्न तहका कमिटीको नेतृत्वदायी भूमिका खेलेका कार्की २०५५ सालमा अध्यक्षको जिम्मेवारीमा रहेका थिए।
स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हालेका कार्की विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटी सदस्यको जिम्मेवारीमा रहेका थिए।
२०७१ सालमा सम्पन्न नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका उनी पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदीप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रूपनारायण श्रेष्ठ, बिन्दा पाण्डेसँगै महत्वपूर्ण भूमिकामा थिए।
पार्टीको महाधिवेशनमा स्वयंसेवक पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रीय राजनीतिमा आबद्ध कार्की नवौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए।













