धनगढी- धनगढीमा निजी लगानीमा सुविधा सम्पन्न सौभाग्य हस्पिटल सञ्चालनको तयारीमा रहेको छ । झण्डै १६ करोडको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्न बिशेषज्ञ सेवासहित सौभाग्य हस्पिटल सञ्चालनमा आउन लागेको हो ।
धनगढीको मुख्य सडक पुरानो भन्सार रोड जाने बाटो नजिकै सञ्चालनको तयारीमा रहेको अस्पतालले यही माघ महिना भित्रै सेवा प्रदान गर्ने अस्पतालका सञ्चालक विवेकप्रसाद रिमालले जानकारी दिए ।
सुरुवातमा २५ शैय्याबाट सञ्चालनमा आउन लागेको अस्पतालले सस्तो र सर्वशुलभ शुल्कमा मुस्कानसहितको स्वास्थ्य सेवा प्रदान गर्ने उनले बताए ।
उनका अनुसार सञ्चालनको सुरुवातमा एक महिना ओपिडी सेवा निशुल्क गरिनेछ । त्यस्तै स्वास्थ्य शिविरहरु पनि आयोजना गरिनेछ । साथै अस्पतलले मेरुदण्डको शल्यक्रिया गर्ने बिशेषज्ञ सेवा पनि दिने छ ।
बालरोग, स्त्रीरोग, हाड् जोर्नी तथा छाला, मुटु कलेजो सम्बन्धी रोग, मानसिक रोग, दन्तरोग लगायतको बिशेषज्ञ सेवा दिने तयारी रहेको अस्पताल सञ्चालक रिमालले बताए । उनका अनुसार अस्पतालमा आईसियु, एनआईसियुलगायतका सेवाहरु पनि रहनेछन् ।













