धनगढी, चैत ९
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले पहिलोपटक प्रदेश निजामती सेवा अन्तर्गत कर्मचारीका लागि विज्ञापन खोलेको छ। स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारीको विज्ञापन खोलेको हो ।
आयोगले नेपाल वन सेवा जनरल फरेष्ट्री समूह अन्तर्गत तहविहीन वन रक्षक पदका लागि विज्ञापन खोलेको छ । जसमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा गरिनेछ ।
प्रदेश लोकसेवा आयोगका कम्प्युटर अधिकृत वीरसिंह भण्डारीले जनरल फरेष्ट्री खुलातर्फ ९२, महिलातर्फ २५, आदिवासी जनजातीतर्फ २०, मधेसीतर्फ १६, दलिततर्फ ७, अपाङतर्फ ४ र पिछडीएको क्षेत्रतर्फ ३ गरी १६७ पदमा विज्ञापन गरिएको जानकारी दिए ।
प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले फागुन दोस्रो साता मात्रै वार्षिक कार्यतालिका सार्वजनिक गरेको थियो ।
यस्तै विभिन्न सेवाका सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुका लागि पनि वैशाखको दोस्रो बुधबार विज्ञापन खोल्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।
साथै सहायकस्तर पाँचौ तहका प्राविधिक पदका लागि पनि जेठको दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।













