बर्दिया- बर्दियामा नेपाल विद्यार्थी संघका दुईवटा समिति चयन भएका छन् । संघका अध्यक्ष दुजाङ शेर्पाले संस्थापनबाट जिल्ला अध्यक्ष तोक्न लागेपछि त्यसभन्दा अघि नै इतर पक्ष शेखर–गगन पक्षधरले अर्को व्यक्तिलाई अध्यक्ष चयन गरेको हो ।
शेखर गगन पक्षले नेविसंघको बाँके जिल्ला अध्यक्षमा नगेन्द्र हमाललाई तोकेको छ । संस्थापन पक्षले गरेका निर्णय विरुद्ध समानान्तर समिति बनाउने क्रम शेखर–गगन पक्षले सुरु गरेको छ ।
अध्यक्ष शेर्पाले आफूखुसी चयन गरिएको जिल्ला समितिलाई मान्यता नदिने बताएका छन् । जिल्ला र क्याम्पस संयोजकमा अध्यक्ष शेर्पाले एकलौटी निर्णय गरेको भन्दै अर्को पक्ष विरोधमा उत्रिएको छ ।
हालसम्म ३३ जिल्ला र ५२ क्याम्पसमा नयाँ कार्यसमिति बनेको शेर्पाले जानकारी दिए । संस्थापन पक्षले एकतर्फी गरेको निर्णयलाई अस्वीकार गर्ने शेखर–गगन पक्षका विद्यार्थी नेताहरुले बताएका छन् ।
समानान्तर गतिविधि सुरु गरेको शेखर–गगन पक्षले रुपन्देहीमा छुट्टै कार्यसमिति बनाएको छ । उक्त पक्षले आसन्न स्ववियु निर्वाचनका लागि १३ वटा समितिको संयोजक समेत चयन गरेको छ ।













