काठमाडौँ- टर्कीमा फेरि भूकम्पको अर्को धक्का गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा पनि टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ । टर्की र उत्तरी सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा १३ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
यससँगै भूकम्पबाट भौतिक संरचना भत्किएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था न्युयोर्क टाइम्सले भने भूकम्पमा १३ सयभन्दा धेरैको मृत्यु हुनुका साथै हजारौं घाइते भएको जनाएको छ ।
यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् ।
टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो । अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको बताइएको छ ।













