काठमाडौं- म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप पाँच वर्षको जेल सजाय सुनाएको छ।
सेनाले शासन चलाइरहेको म्यानमारको अदालतले भ्रष्टाचारको आरोपमा ७६ वर्षीया सुकीलाई दोषी ठहर गर्दै उक्त जेल सजाय सुनाएको हो । सुकीमाथि नगद र सुनमार्फत करिब ६ लाख डलर बराबरको घुस लिएको आरोप छ । सुकीलाई न्यपेतस्थित अदालतले बन्द कोठाभित्रको सुनुवाईपछि उक्त सजाय सुनाएको हो । २०२१ को फेब्रुअरीयता सुकी घरमा नै नजरबन्दमा रहँदै आएकी छिन् ।
सुकीमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै मुद्दा लगाइएको छ। यद्यपि उनले सबै आरोप अस्वीकार गर्दै आएकी छन्।
यससँगै सुकीको समग्र जेल सजाय ११ वर्ष पुगेको छ। यसअघि गत डिसेम्बरमा सुकीलाई कोभिड–१९ विरुद्धको नियम उल्लंघन गरेको आरोपमा ६ वर्षको जेल सजाय सुनाएको थियो ।
अझै पनि सुकीमाथि थप १० ओटा भ्रष्टाचारको मुद्दा छन्। जसमा उनलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ। सबै मुद्दामा सुकी दोषी ठहर भएको खण्डमा उनलाई १९० वर्षसम्मको जेल सजाय हुन सक्ने पनि बताइएको छ ।













