धनगढी – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई समर्थन गर्ने भएको छ । विश्वासको मतका लागि बहुमत खोजिरहेका शाहलाई उन्मुक्तिले समर्थन गर्ने निर्णय गरेको हो ।
७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताउदैँ आएको भएपनि आज भने विस्वासको मत दिने निर्णय गरेको छ । नागरिक उन्मुक्तीका संसदीय दलका नेता रामेश्वर चौधरीले शाहलाई बिस्वासको मत दिने बताएका छन् । ‘हामी विस्वासको मत दिन्छौ चौधरीले भने सबै जना धनगढीमै छौ ।,’ अहिले पनि हामी छलफलमा बसेका छौ ।’
यस अघि अध्यक्ष रञ्जिता श्रेष्ठले सम्झौताबिना मत नदिने बताउदैँ आएकी थिइन् । उनीहरुले आफ्ना माग पुरा नभए बिस्वासको मत नदिने बताएका थिए ।
शाहले आज विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
माघको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार आज उनले विश्वासको मत लिँदै छन् ।
माओवादी केन्द्रको शनिवार बसेको संसदीय दलको पनि यथास्थितिमा विश्वासको मत दिन नसक्ने निर्णय गरेको संसदीय दलका नेता खगराज भट्टले बताएका छन् । नेकपा माओवादी केन्द्र संसदीय दलको सचिवालयले अहिले सम्म हिजोकै निर्णयमा रहेको बताएको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कम्तीमा २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९ सदस्य छन् । माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद रहेका छन् ।













