धनगढी – सुदूरपश्चिम प्रदेश सभाको आठौं बैठक सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिन आग्रह गरेका छन्।
आइतबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै उनले आफूलाई मत दिइए राजनीतिक स्थायित्व, सर्वांगीण विकास र समनीतिको यात्रा प्रारम्भ हुने बताए।
शाहले मुख्यमन्त्री नियुक्त भएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले आइतबार प्रस्ताव प्रस्तुत गरेका हुन्। उनी गत माघ २६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीको प्रस्तावमाथि अहिले प्रदेश सभामा छलफल भइरहेको छ।













