धनगढी– नेपाल उद्योग वाणिज्य महासंघ चुनाव नजिकिएसंगै देश दौडाहामा निस्केका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी पूर्वी नेपालकाे तेह्रथुम उद्योग वाणिज्य संघ पुगेका छन् ।
कुँवर र जोशीले महासंघको केन्द्रीय कार्यकारिणी समितिको जिल्ला नगरको (खुल्ला तर्फ) बाट सदस्यमा उम्मेदवारी घोषणा गरेपछि देशभरका उद्योगी व्यवसायीलाई भेटघाटमा सक्रियता बढाएका हुन् ।
बुधबार धनगढीबाट चुनावी अभियान सुरू गरेका कुँवर र जोशीले आइतवार कोशी प्रदेशको तेह्रथुम जिल्ला पुगेर त्यस जिल्लाकाे उद्योग वाणिज्य संघका अध्यक्षसहित उद्योगी व्यवसायीहरुसंग भेट गर्दै चुनावमा सहयोग गर्न आग्रह गरेका छन् ।
उद्योगी व्यवसायीहरुलाई भेट गर्दै अध्यक्ष द्वयले सुदूरपश्चिम र सुदूरपूर्वलाई जोडने उद्देश्यसहित चुनावलाई पनि मध्येनजर गर्दै आफूहरु पूर्वसम्म पुगेको बताए । सुदूरपूर्वका व्यवसायीहरुसंग सुदूरपश्चिम जहिले पनि हातेमालो गरेर अगाडि बढन तयार रहेको धारणा राखे।
जिल्ला र नगर उद्योग वाणिज्य संघहरूले भाईचाराकाे सम्बन्ध रहन आवश्यक रहेकाे बताए । महासंघले जिल्ला नगरलाई हेर्न दृष्टिकोण नै फरक रहेकाे गुनासो गरे ।
भेटका क्रममा त्यहाँका उद्योगी व्यवसायीहरुले चुनावमा जीतको अग्रीम शुभकामना दिँदै आफूहरूको साथ सहयोग रहने प्रतिबद्वता जनाए । महासंघको ५७ औँ चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ ।























