धनगढी– नेपाल उद्योग वाणिज्य महासंघ चुनाव नजिकिएसँगै देश दौडाहामा निस्केका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशी पूर्वी नेपालको मध्य पहाडी क्षेत्र भोजपुर उद्योग वाणिज्य संघ पुगेका छन् ।
कुँवर र जोशीले महासंघको केन्द्रीय कार्यकारिणी समितिको जिल्ला नगरको (खुल्ला तर्फ) बाट सदस्यमा उम्मेदवारी घोषणा गरेपछि देशभरका उद्योगी व्यवसायीलाई भेटघाटमा सक्रियता बढाएका हुन् ।
बुधवार धनगढीबाट चुनावी अभियान सुरु गरेका कुँवर र जोशीले आइतबार कोशी प्रदेशको भोजपुर जिल्ला पुगेर त्यस जिल्लाको उद्योग वाणिज्य संघका अध्यक्षसहित उद्योगी व्यवसायीहरुसंग भेट गर्दै चुनावमा सहयोग गर्न आग्रह गरेका छन् ।
उद्योगी व्यवसायीहरुलाई भेट गर्दै अध्यक्ष द्वयले सुदूरपश्चिम र सुदूरपूर्वलाई जोडने उद्देश्यसहित चुनावलाई पनि मध्यनजर गर्दै आफूहरू पूर्वसम्म पुगेको बताए । सुदूर पूर्वका व्यवसायीहरुसंग सुदूरपश्चिम जहिले पनि हातेमालो गरेर अगाडि बढ्न तयार रहेको धारणा राखे।













