धनगढी- नेपाल उद्योग वाणिज्य महासंघ चुनाव नजिकिएसंगै देश दौडाहामा निस्केका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बिहीबार गण्डकी प्रदेशका उद्योगी व्यवसायीसंग भेटघाट गरेका छन् ।
जिल्ला र नगरको (खुल्ला तर्फ) बाट महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा उम्मेदवारी घोषणा गरेपछि अध्यक्ष द्वय कुँवर र जोशी देशभरका उद्योगी व्यवसायीलाई भेटघाट गरिरहेका हुन् । उनीहरुले बिहीबार गण्डकी प्रदेशका स्याङ्जा, वालिङ, पर्वत र म्यादी उद्योग वाणिज्य संघका अध्यक्षहरूलाई भेटे ।
स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ , पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी र म्यादी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललार्ई भेट्दै कुँवर र जोशीले महासंघको चुनावमा सहयोग गर्न आग्रह गरेका हुन्। आफूलाई भोट माग्नुका साथै सुदूरपश्चिममा लगानी लगाउन गर्न आग्रहसमेत गरे ।
लगानीको सुनिश्चितता समेत आफूहरूले गर्ने प्रतिबद्वता जनाउँदै उनीहरुले सुदूरपश्चिमका उत्पादनहरूलाई बजारीकरणका लागि मद्दत गर्नसमेत आग्रह गरे ।
यही चैत्र १५ गते धनगढीबाट चुनावी अभियान सुरू गरेका कुँवर र जोशीले यसअघि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा पुगेर त्यहाँका विभिन्न जिल्ला र प्रदेशका अध्यक्षसहित उद्योगी व्यवसायीहरुसंग भेटघाट गरेका छन् । भेटघाट अझै जारी छ ।
भेटका क्रममा उद्योगी व्यवसायीहरुले जीतको अग्रीम शुभकामना दिँदै आफूहरूको साथ सहयोग रहने प्रतिबद्वता जनाएको । टोलीमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीलगायत छन् । महासंघको ५७ औँ चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ ।













