टोकियो- जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रमणको प्रयास भएको छ ।
वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् ।
प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनीलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो ।
आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । जापानमा हिंसात्मक घटना विरलै हुने गरेका छन्, तर गत वर्ष चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहारबाट हत्या भएपछि राजनीतिक दलका नेतामा सुरक्षा चिन्ता बढेको छ ।













