धनगढी– कैलालीको टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गरेका हुन्।
सो अवसरमा उद्योग पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामीले कैलालीमा टीकापुर, भजनी, गौरीगङ्गा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको जनाउँदै दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका कामको प्रसंशा गरे। उनले टीकापुर नगरपालिकाले स्वास्थ्यमा पालिकाले गरेका कार्यले अन्य पालिकालाई पनि प्रेरणा मिल्ने बताए ।
मन्त्री धामीले पूर्ण खोप घोषणालगायतका कार्यका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए। कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका डा। निमेश खतिवडाले टीकापुरले अब कोभिड–१९ खोप पनि सबैलाई समयमै लगाएर चाँडै पूर्णखोप घोषणा गर्नेमा आशावादी रहेको बताए।













