धनगढी– कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रबाट युरिया मलको बोराभित्र राखेर ल्याइएको चिनी बरामद गरिएको छ । सशस्त्र प्रहरी र सत्ती भन्सार कार्यालयको राजश्व टोलीले टीकापुर नगरपालिका वडा नं. ७ कालाकुण्टाबाट मंगलबार राति चिनी बरामद गरेको हो ।
बोराको बाहिर युरिया मल लेखिएको १५ बोरा चिनी बरामद गरिएको बिओपी खक्रौलाका इञ्चार्ज धनबहादुर सिंहले बताए । राति साढे १२ बजेको समयमा तस्करहरुको एक समूहले युरिया ल्याउने बाहनामा चिनी भित्र्याई रहेको सूचना पाएपछि गएको टोलीले १५ बोरा चिनीसहित ४० बोरा युरिया, ६ बोरा डिएपी मल, एक हल राँगा, दुईवटा गोरु गाडा बरामद गरेको इञ्चार्ज सिंहले बताए ।
उनले अनुसार तस्करीमा संलग्न एक गिरोहले मलको बोराभित्र राखेर चिनी ल्याउने गरेको सूचनाका आधारमा बरामद गरिएको बताए । नेपालमा खेतबारीमा प्रयोग गरिने युरिया, डिएपी लगायतका मलखादको अभाव देखिएपछि किसानहरुले सीमा क्षेत्रबाट मल ल्याउने गरेका थिए । मलको बोराभित्र चिनी भेटिएपछि सुरक्षा चेकजाँचमा कडाई गरिएको छ।
यो नाकामा तस्करी व्यापक हुने गरेको बताइएको छ । साउन र भदौमा विशेषगरी कपडा नेपाल भित्रिने भए पनि भन्सारबाट कपडा नगन्य मात्रामा भित्रिरहेको छ ।













