धनगढी- नेपाली कांग्रेस कैलालीले आगामी निर्वाचनलाई लक्षित गरेर वडा तहसम्मै रणनीतिक भेला गर्ने निर्णय गरेको छ । मंगलबार जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको भेलाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन वडा तहसम्म रणनीतिक भेला गर्ने निर्णय गरेको हो ।
निर्वाचनलाई लक्षित गरेर केन्द्रीय सदस्य, जिल्ला कार्य समितिका पदाधिकारी, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी, नगर पदाधिकारी, वडा प्रतिनिधीसंगै भातृ संघ–संगठनका पदाधिकारीलाई वडा तहसम्मै प्रतिनिधीका रुपमा खटाई रणनीतिक भेला गर्ने निर्णय गरेको जिल्ला सचिव केशव मिश्रले बताए ।
बैठकले पार्टीका कुनै पनि नेता विरुद्ध सामाजिक संजालमा टिकाटिप्पणी नगर्न कार्यकर्ताहरुलाई आग्रहसमेत गरेको छ । सामाजिक संजालमा पार्टीका नेताविरुद्ध टिकाटिप्पणी तथा आलोचना गर्ने कार्यकर्ताको निगरानी गर्न पार्टी सभापति नारायणदत्त भट्टले एक समिति गठन गर्न निर्देशनसमेत दिएको उनले बताए ।
यस्तै, जिल्लामा पूर्णता नपाएको भातृ तथा शुभेच्छुक संघ संस्थालाई पूर्णता दिई सक्रिय बनाइने जनाइएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, जीवन राना, स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलगायत विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।













