बैतडी- भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाट नाकाबाट बिसु पर्व मनाउन घर फर्किनेहरु बढ्न थालेका छन् । रोजगारीको लागि भारत गएकाहरु यतिबेला विसु पर्व मनाउन धमाधम घर फर्किरहेका हुन् । आफन्तसँग विशु मनाउनको लागि धमाधम घर फर्किरहेको झुलाघाट प्रहरी चौकीले जनाएको छ । बैतडीसहित सुदूरपश्चिममा नयाँ बर्षलाई बिसु पर्वका रुपमा धुमधाम संग मनाउने गरिन्छ ।
एक हप्तादेखि झुलाघाट नाकाबाट दैनिक अढइसय नागरिकहरु घर फर्किरहेको झुलाघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक रुद्र सिंह धामीले जानकारी दिए । बैतडीसहित बझाङ, डडेल्धुरा, अछाम र बाजुरालगायतका मानिसहरु झुलाघाट नाकाबाट भित्रिने गरेको उनले बताए । रोजगारी संगै अध्ययन तथा अन्य कामले बाहिर रहेकाहरु नयाँ बर्ष अर्थात बिसु पर्व मनाउन घर फर्किरहेका छन् । सुदूरपश्चिममा विशु पर्व विशेष महत्वका साथ मनाइने गरिएको छ ।
यस्तै नयाँ बर्ष नजिकिए सँगै आउजाउ गर्ने यात्रुहरुको चहलपहल बढेपछि जिल्लामा सुरक्षा अवस्थालाई मजबुत पारिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीसहित सुदूरपश्चिममा नयाँ बर्षलाई बिसु पर्वका रुपमा धुमधाम संग मनाउने गरिन्छ । यो समयमा हुन सक्ने सम्भावित सडक तथा अन्य दुर्घटनालाई मध्ये नजर गर्दै जिल्ला भित्रीने तथा बाहिरीने सवारी सधानहरुको चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्त प्रहरी निरीक्षक खेमबिक्रम केशीले जानकारी दिए ।
तिव्र गतिमा सवारी साधन चलाउने, क्षमता भन्दा बढी यात्रुहरु बोक्ने र मदिरा सेवन गरि सवारी साधन चलाउँदा बर्षेनि चाडपर्वको समयमा सडक दुर्घटना हुने गरेका छन् । उनले बढी जसो सवारी साधनहरुको आउजाउ हुने क्षेत्रहरु खोड्पे, पाटन, सत्बाँझ, खोच्लेक गढीलगायतका क्षेत्रहरुमा चेकजाँचमा कडाइ गरिएको बताए ।
देवर र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । हरेक वर्ष बिसु पर्वमा मीठा(मीठा खानाका परिकार बनाउने र विशेषगरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ ।
बिसु पर्वको दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ ।













