धनगढी- धनगढी उपमहानगरपालिकाको टिप्परले ठक्कर दिँदा एक जना घाइते भएका छन्। धनगढीमा उपमहानगरपालिकाको से १ ग ६५ नम्बरको टिप्परले गौरीगंगा नगरपालिका वडा नम्बर १ निवासी ४७ वर्षीय बाबुराम चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बुधवार बिहान धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित साइकलमा सवार रहेका चौधरीलाई टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक तपेन्द्र सिंह बोहराले जानकारी दिए ।
घाइते भएका चौधरीको टाउको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते चौधरीको केजी अस्पतालमा उपचार भइरहेको छ । टिप्पर र चालक सुरेन्द्र रावललाई प्रहरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीले जनाइएको छ ।
















