कञ्चनपुर- सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दिइएको समय आइतबार साँझ ५ बजे सकिँदै छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम पक्ष, कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर सरकार बनाउने तयारीमा छन्।
नाउपालाई मुख्यमन्त्री दिन सहमति जनाउँदै उनीहरू दाबी पेस गर्न प्रदेश प्रमुख नजिर मियाँकहाँ गएका छन्। उनीहरुले नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अघि सार्ने समझदारी गरेको स्रोतको दाबी छ। उता केन्द्रमा सत्ता गठबन्धनले नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति गर्दै रञ्जिताले कैलाश चौधरीलाई अघि सारेकी थिइन्।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा अहिले ५१ सांसद छन्। एक सांसदको निधन र समानुपातिक सांसद इन्द्रिरा गिरी पदमुक्त भएपछि २ पद रिक्त छ। सरकार बनाउन २६ सांसदको समर्थन चाहिन्छ। नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षका ४ सांसदको समर्थनसहित चौधरीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका हुन्।













