धनगढी- सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पाँचजना सांसदहरूले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका छन्। लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले प्रदेश प्रमुखको कार्यालय पुगेर पत्र बुझाएका हुन्।उनीहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन्।
उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरीनिकट हुन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले भने आफू नै दलको नेता रहेको भन्दै सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमा बसेका छन्। नाउपा अध्यक्ष श्रेष्ठले केही दिनअघि घनश्याम चौधरीलाई दलको नेताबाट हटाउँदै तीन महिनाका लागि पार्टीबाट समेत निलम्बन गरेकी थिइन्।
















