काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन्। उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजितरूपमा निषेध गर्न खोजिएको तर्क गरे।
जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढेपनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा ढकेलिएको महसुस भएको उनले बताए। रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै बताउने जिकिर गरे।
रावलले कम्युनिष्ट पार्टीले हिरक जयन्ती मनाउदै गर्दा कम्युनिष्ट एकताको जनताको आकांक्षालाई घात गरेको आरोप लगाए । आफुले गरेको गल्तीको दोष अरुलाई दिएर इतिहासले कसैलाई छुट नदिने उनले बताए ।













