धनगढी- माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा शनिबारदेखि सुरु हुँदैछ । यो परीक्षामा कैलालीबाट ८ हजार ९ सय ४६ जना विद्यार्थीले सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाई कैलालीले जनाएको छ ।
भदौ ११ र १२ गते हुने परीक्षाका लागि कैलालीमा सबै तयारी पूरा भएको इकाईका शाखा अधिकृत प्रतापसिंह भडारीले जानकारी दिए । उनका अनुसार जिल्लामा १४ वटा केन्द्र तोकिएका छन् । जिल्लाको धनगढीमा ४ वटा, टिकापुरमा २ वटा, लम्कीचुहामा २, अतरियामा २, चौमालामा १, सुखडमा १, बर्दगोरीयामा १ र भजनीमा १ गरी १४ वटा परीक्षा केन्द्र तोकिएको अधिकृत धामीले जानकारी दिए ।
पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ भने दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनुपर्नेछ ।
१२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने शिक्षा विकास तथा समन्वय इकाई कैलालीका सूचना शाखा अधिकृत धामीले बताए । परीक्षा विहान ८ बजेदेखि सञ्चालन हुनेछ ।













