दार्चुला– दार्चुलाको व्यास गाउँपालिकाले निःसन्तान दम्पती र एकल पुरुषलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको छ।
गाउँपालिकाले ४५ वर्ष पूरा भएका विवाह नगरेका वा श्रीमतीको मृत्यु भई अर्को विवाह नगरेका एकल पुरुष तथा ४५ वर्ष पूरा भएका निःसन्तान दम्पतीलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए । उनले संघीय सरकारको भत्ता लागू नहुँदासम्म मासिक रूपमा ५ सय रुपैयाँका दरले भत्ता दिइने बताए ।
व्यास गाउँपालिकाको स्थानीय सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ पारित गर्दै भत्ता दिने निर्णय गरेको हो । यसलाई व्यास गाउँपालिकाले प्रत्येक वर्ष समय सुहाउँदो थप गरी एकल पुरुष र निःसन्तान दम्पतीलाई निरन्तर रूपमा भत्ता दिने अध्यक्ष धामीले बताए ।













