धनगढी- कैलाली प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट १० जना जुवाडे पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले सोमबार राति साडेपानी बजारको एक होटेलमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई ८८ हजार नगदसहित पक्राउ गरेको हो ।
उनीहरूका ६ वटा मोटरसाइकल पनि बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मणबहादुर शाहीले बताए ।
पक्राउ परेका जुवाडेहरू साडेपानी, बौनिया, लम्की र बर्दियाका रहेको बताईएको छ । उनीहरूमाथि म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।













