कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयले विगत लामो समयदेखि पशु विज्ञान शिक्षा प्रदान गर्दै आएको छ । सुदूरपश्चिममा प्राविधिक शिक्षा दिँदै आएको सो विद्यालयका निमित्त प्रधानाध्यापक सीताराम जोशीको विचार प्रस्तुत गरेका छौँ ।
राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय २०४८ सालमा स्थापना भएको हो । यो विदालय २०६२ सालमा पहिलो पटक एसएलसी परीक्षामा सामेल भएको हो । हामीले आफ्ना गतिविधि बढाउँदै जाँदा २०७६ सालमा सिटीइभिटीबाट अनुमति लिएर यो क्षेत्रकै नौलो पशु विज्ञानतर्फको पढाइ सञ्चालन गर्यौँ । यहाँका मान्छेले कृषि,पशुपालन तिर बढी ध्यान दिने तर पशु चिकित्सकको अभाव रहने त्यसलाई परिपुर्ति गर्नुपर्छ भनेर हामीले पशुविज्ञानको अनुमति लियौँ । सुरुदेखि नै विद्यार्थी राम्रै छन् । अहिले पनि विद्यार्थीको कमी छैन् । सुदूरपश्चिमका अधिकांश जिल्लाहरुबाट विद्यार्थी आइरहेका छन् ।
यो विद्यालयले सुदूरपश्चिमका दुर्गम जिल्लाका विदार्थीलाई प्राविधिक शिक्षा दिएको छ । यहाँ पढेर पासआउट भएका कतिपय विद्यार्थी रोजगारीमा छन् । कतिपय व्यवसाय गरेर सेवा प्रदान गरिरहेका छन् ।
पशु विज्ञान जरुरी हो । यहाँ यो पढाइ थिएन् । पढ्न बाहिर जानुपर्ने,जनशक्तिको पनि अभाव हुने अवस्था थियो । हामीलाई पहिलो वर्ष त शिक्षक नै पाउन मुस्किल भएको थियो । विस्तारै शिक्षकको आवश्यकता पूरा गर्न पायौँ । बाहिरबाट ल्याउनु पर्ने बाहिरबाट ल्याउँदा महंगो हुने अवस्था थियो । तर पनि हामीले कक्षा सञ्चालन गर्यौँ । हामी सन्तुष्ट छौँ । विद्यार्थीहरु राम्रै गरी पास भएर गएका छन् ।
सुदूरपश्चिम क्षेत्रमा नतिजाको हिसावमा हामी अग्र स्थानमा छौँ । ३ वर्षे डिप्लोमा अध्ययनका लागि एक लाख ७० हजार शुल्क लाग्छ । ५ हजार धरौटी राख्नु पर्ने हुन्छ । यो बाहेक कुनै पनि शुल्क लिदैनौँ । एक सेमिष्टरमा चालिस जना विद्यार्थी हुन्छन् । सिटीइभिटीबाट ३ जना र एकजना उत्कृष्ट जेहन्दार विद्यार्थी गरि ४ जना छात्रवृत्तिमा पढ्न पाउँछन् । विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्नु उपयुक्त छ । हुन त आ–आफ्नो क्षेत्रमा सबै राम्रो हुन्छ । तर,अत्यन्त सीपमुलक,जीवन उपयोगी,विद्यार्थी आफ्नै खुट्टामा उभिन सक्ने भएकाले मलाई पुश विज्ञान अति उत्तम जस्तो लाग्छ । विद्यार्थीका लागि यो गरी खाने शिक्षा हो ।
एसइईपछि विद्यार्थी अलमलिएका हुन्छन् । साथी कुन कलेज जान्छन् । त्यही जान्छु भनेर योजना बनाउँछन् । विद्यार्थीले मैले के पढ्दा उपयुक्त हुन्छ भनेर योजना बनाउँदा राम्रो हुन्छ । अहिले हाम्रो यहाँ व्याचुलर गरेका विद्यार्थी पनि पशु विज्ञानमा भर्ना हुन आएका छन् । यसको महत्व बुझेर नै होला ।














