जीवनका धेरै कुराहरु अनिश्चित छन्, तर मृत्यु निश्चित छ । मृत्युको कारण जीवनको महत्व भएको हो । यसअर्थमा मृत्यु स्वभाविक हो, यसलाई टार्न सकिदैन । मान्छेले जीवनमा गरेका कर्मका कारण मृत्युपछि पनि सम्झिरहने कारण बन्छ । त्यसैले मान्छे कति लामो आयु बाँच्यो भन्नु भन्दा उसले बाँचुञ्जेल कस्तो कर्म गर्यो भन्ने कुराले खास अर्थ राख्दछ । आफ्नो जीवनभर किसानहरुको अधिकार,हक हितका लागि संघर्ष गरेका भीमदत्त पन्तलाई साउन १७ गते बार्षिक तिथिमा प्रत्येक बर्ष सम्झनु महत्वपूर्ण हुन्छ ।
को थिए भीम दत्त पन्त ? :
डडेल्धुराको कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भीमदत्त पन्त आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका सुपुत्र हुन । उत्तरप्रदेश भारतको सिंहाईबाट संस्कृत बिषयमा हाईस्कुल सम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने ब्यक्ति पनि भीमदत्त पन्त नै थिए ।
कसरी आन्दोलनको शुरुवात गरे ?
अन्याय, सामाजिक भेदभाव, सहन नसक्ने भीमदत्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरे । त्यस बेला उनलाई भीमदत्त काँग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाई दण्ड सजाय दिने हुनाले ठालुहरु डराउँथे । कसैलाई भीमदत्तले कारबाही गरेको थाहा पाइएमा फलानोको घरमा काँग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । कसैसित धेरै रिसाएर गाली गर्यो भने तेरो घरमा काँग्रेस पसोस् भन्ने पनि चलन थियो ।
गरीब, दलित, जनजाती, किसानहरुलाई संगठित गरि राणा विरोधी आन्दोलनमा समेत भीमदत्तको ठूलो भूमिका रह्यो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि काँग्रेसले गरेको व्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन, भनी राणासित मिलेर बनाएको सरकारको विरोध गरे । परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्तले दलित, मगर र थारुहरु संगठित गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपसिंह दुई जना सेनाका कमान्डर थिए । दक्षिण भारत पञ्जावका एक जना विद्वान कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए ।
भान्सामा दलितहरुलाई सहभागी गराउन थाले । किसानहरुलाई बेदखल गर्ने, उनीहरुको नाममा जाली तमसुक बनाउने, श्रमशोषण गर्ने ठालुहरुलाई कारबाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । यस व्यवहारबाट कुडिएका ठालुहरु उनलाई पागल भन्थे । पछि भीमदत्त आफै पनि ठालुहरुलाई परिचय दिंदा पागल पन्त भन्ने गर्थे । काँग्रेससित वैचारिक भिन्तता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले । केही ठाउँमा जय नेपाल भन्नेलाई कारबाही पनि गरेका थिए । उनले भन्ने गर्थे, म अहिले जे गर्दैछु, भोलि यस्तै हुन्छ । त्यसैले आजैदेखि अन्याय, अत्याचार छोड्नुपर्छ । उनको क्रान्ति विरोध गर्ने र कारबाही गर्नेमा मात्र सीमित थिएन् । गरीबहरु संगठित हुनुपर्छ । अन्न खेर फाल्नु हुँदैन । उत्पादन बढाउनुपर्छ । अनावश्यक खर्च घटाउनु पर्छ । प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए ।
कस्तो दुःख भोगे भीमदत्तले ?
क्रान्तिमा लागेकाले भीमदत्त घरको काममा समय दिन सक्दैनथे । गाउँका ठालुहरु सबै विरोधी थिए । घरको जिम्मेवारी धर्मपत्नी पार्वती पन्तकै हुन्थ्यो । नावालक दुइ छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो र अढाइ वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो । त्यस पश्चात पनि घरको प्रवाह नगरी क्रान्तिमै लागि रहे ।
दुबै छोराको मृत्युपछि पार्वती पन्तको आग्रहमा महता क्षेत्रीको छोरीसित अर्को विवाह गरे । कान्छी श्रीमतिबाट छोरी जन्मिइन । उनको पनि ७÷८ वर्षकै उमेर हुँदा मृत्यु भयो । छोरीको मृत्युपछि कान्छी श्रीमतीले अर्को विवाह गरिन् । भीमदत्तका विरोधी र पारिवारिक समस्या बढ्दै गए तर क्रान्तिबाट बिचलित भएनन् । उनले गरीबको पक्षमा बोलेको र दलितको घरमा खाएको कसैलाई पनि मन परेको थिएन् । यहीबेला अन्याय बिरुद्ध संगठित भई लड्ने उद्घोषका साथ २००९ बैशाख २ गते डडेल्धुराको घटालथानमा भेला बोलाए । गाउँका ठूला ठालुहरुलाई अनिवार्य उपस्थित हुन उर्दि जारी गरे । सबैलाई जय दासको हातको पानी खान लगाए ।
भीमदत्तले गरेको आन्दोलन :
गरीबहरुलाई संगठित गर्न भीमदत्त गाउँ भ्रमण गर्न जान्थे । सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लाहरुमा भ्रमण गर्दा गरीबहरुले नुन समेत खान नपाएको थाहा पाएर नुन आन्दोलनको घोषणा गरे । कञ्चनपुरको ब्रहमदेवमा भएको गाोदामबाट गरीबहरुलाई नुन, कपडा, वितरण गरे । यस घटनाका दिन गरीबहरुको ठूलो जनमासले भीमदत्तको स्वागत गरी भीमदत्त पन्त जिन्दावाद भनी नाराबाजी गरे ।
त्यहीबेला गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगञ्ज पुर्याइयो । भागेर ज्यान बचाइ कञ्चनपुर आए । धर्मसिंह डिट्ठालाई बोरीमा बाँधेर महाकालीमा फाले । जोगराज सुबेदारलाई बोरीमा बाँधेर फाल्न लाग्दा उनको श्रीमतीले बाटोमा गएर बचाइन । काली गोरी महिला बेचेको कर उठाएर खाने जयदेव सुब्बालाई पनि बोरीमा बाँधेर महाकालीमा फाल्ने योजना थियो । गाउँलेहरुले थाहा पाएर बिहान महिलाको पहिरनमा पानी लिन गएको बहाना गरी महाकाली पारी पठाएकाले ज्यान जोगियो ।
त्यहाँबाट डडेल्धुरा फर्केर आफ्नो बुवालाई तपाइ पनि सामन्त हो भनी घरमा भएका तमसुकहरु च्याते । बिष्टहरुको घरमा भएका तमसुकहरु संकलन गरी बोरीमा हालेर जलाइदिए । मालअड्डामा भएका मूठहरु जलाइ दिए । त्यसपछि बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफु बडाहाकिम भइ बसे । क्रान्तिमा सहयोग गर्नेहरुलाई कर्मचारी बनाए । चार महिनासम्म उनले शासन चलाए ।
‘कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरे । बेलौरीमा बैंक कब्जा गरि त्यहाँबाट लिएको पैसा सेनालाई तलव दिएर बाँकी रहेको मध्ये कमैया र हलियाहरुलाई सहयोग गरे । ‘उठ जागरे, नेपाली नवजवान जागरे । नेपालमा तम म, नेपाल देशलाई स्वतन्त्र बनाँउरे’ भन्ने उहाँको देशभक्ति गीत (प्राथना) थियो । ‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो , गरीबका दिन आया ठालुको काल आयो’ उहाँको चर्चित गीत थियो । यसबाट बुझ्न सकिन्छ कि, भीमदत्त देशलाई स्वतन्त्र बनाउने,गरीबहरुलाई ठालुहरुको कब्जाबाट मुक्त गराउने अभियानता थिए ।
कसरी भयो भीमदत्तमाथि दमन ? :
भीमदत्तले गरीबको पक्षमा गरेको काम नै गाउँका ठालुहरुलाई मन परेको थिएन । त्यसमाथि दलितहरुको घरमा खाना खाने, तमसुक जलाउने, बेदखली गर्नेलाई कारवाही गर्ने व्यवहारले उनका विरोधी बढ्दै गएका थिए । सरकारी अड्डाले उनको बिषयमा झुट्टा रिपोर्ट सरकारलाई पठाउँथे भने ठालुहरु गाउँमै षडयन्त्र गरिरहेका हुन्थे । उनीहरुले भीमदत्तलाई मार्न चन्दा उठाएर सेनाको श्रीनाथ गणलाई पैसा समेत दिए । सरकारले भीमदत्तलाई पटक पटक जेल हाल्यो । त्यसबाट पनि भीमदत्त बिचलित नभएपछि मार्ने षडयन्त्र गरि भारतीय सेना समेत बोलायो । भीमदत्त बेलौरी कब्जा गरि धनगढी कब्जा गर्ने तयारी साथ हिडिरहेका बेला भारतीय सेनाले घेरामा पार्यो ।
चारैतिर भारतीय सेनाले घेरेको र पानी परी हिलो भएकाले भाग्न र प्रतिकार गर्न कठिनाई थियो । त्यस अवस्थामा पनि भीमदत्त त्यहाँबाट बच्न सफल भई केही सेनाका साथ निगाली, सहजपुर हुँदै बुडर पगे । सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सेना मारिए । २०१० साल साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा मगरको घरमा खाना पकाउन लागेका बेला गोली हानियो । मलाई पक्राउ गर । गोली नहान भन्दा मानेनन । गोली लागी छटपटाईरहेका बेला भीम दियालले उनको टाउको काटि दिए । टाउको लगेर बडाहाकिम मोहनबहादुर सिंहलाई बुझाइयो । काटेको टाउको बाँसको टुप्पोमा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो ।
काजक्रियाका लागि पार्वती पन्त टाउको माग्न जाँदा दिइएन । गाउँमा काजक्रिया गर्न बाहुन पाइएन । क्रिया पनि गर्न दिइएन । पानीको नाउलो छुट्याइयो । गौरा अलग गरियो । उनको परिवारलाई मेलापर्व, मन्दिर, पानीपधेँरोबाट बञ्चित गरियो । गाउँमा क्रिया गर्न समेत नपाइने भएपछि ४० तोलाको कल्ली, २२ रुपयाँ तोला सुन, घरमा भएका भाँडाकुँडा बेचेर पार्वती पन्त, भीमदत्तका भाइ सिद्धराज पन्त र यदुनाथ पन्तले हरिद्वार गइ काजक्रिया गरे ।
किसान नेता भीमदत्तको सपना साकार पार्न सबै जुटौ :
किसान आन्दोलनको नेतृत्व गरि सबै दलका आदर्श बनेका भीमदत्त लामो समयपछि शहीद घोषणा हुनु भएको छ । २०७२ फागुनमा सरकारले भीमदत्त सहित किसान बिद्रोहका २२ नेताहरुलाई शहीद घोषणा गरेको छ । नेताहरु सडकमा हुँदा गरीबलाई सम्झिने र सिंहदरबार गइसकेपछि ठूलाबडाकै पक्षमा जाने संस्कार भएकै कारणले भीमदत्तलाई पनि बिर्सेका हुन सक्छन ? अर्कोतिर दलहरुमा आदर्श भन्दा सत्ता साँटगाँठलाई महत्व दिने प्रबृति बढेको र किसानलाई उपेक्षा गर्दै आएकाले पनि भीमदत्तले सम्मान पाएनन भन्न सकिन्छ । यसो भन्दा भीमदत्तलाई शहिद घोषणा गरेर मात्र सम्मान भएको मान्न सकिदैन ।
सच्चा सम्मान गरेको तब मानिने छ, जव उनले उठाएको मुद्दा सम्बोधन हुनेछ । भूमिहीन, सुकुम्बासी, बाढीपिडित, मुक्त हलिया, मुक्तकमैया, कम्लरी, आरक्षपीडित, अव्यवस्थित बसोबासी र किसानले जग्गा तथा कृषिको पूर्ण अधिकार पाउनेछन । पिछडिएका जाती, समुदायले न्याय पाउनेछन । किसान, गरीबलाई खाना, बास, सुरक्षा, शिक्षा, उपचार र रोजगारीको ग्यारेण्टी गर्नु भीमदत्तलाई सम्मान गर्नु हो । अधिकार प्राप्तीको अभियान रोकिएको ,सकिएको छैन, अभियान सकिने बिषय पनि होइन, यो निरन्तर छ । त्यसैले भूमि तथा कृषि सुधार र अधिकार प्राप्तीको लडाइमा संगठित अगुवा, कार्यकर्ता, अभियानकर्मी सबैले किसान नेता भिमदत्त पन्तले देखाउनुभएको बाटोको अनुसरण गर्नुपर्ने र सबैले समाजमा रहेको अन्यायपूर्ण र शोषणमुखी संरचनामा फेरबदल ल्याई न्यायपूर्ण र समृद्ध समाज निर्माणका लागि जुट्नुपर्ने आवश्यकता छ ।
(लेखक चुनारा भूमिअधिकारकर्मी एवं राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल, सुदूरपश्चिम प्रदेश सचिव हुन् )













