धनगढी- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गौरा पर्वले सामाजिक एकताको सन्देश दिएको बताएकी छन् । बुधबार धनगढीमा गौराको पूजाआजपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै मन्त्री राणाले यस्तो बताएकी हुन् ।
उनले गौरा समृद्धिको पर्वको रुपमा समेत रहेको बताउँदै गौराले समाजलाई एक सूत्रमा बाँधेको बताइन् । हरेक वर्ष गौरा पर्व मनाउन मन्त्री राणा धनगढीस्थित घरमा आउने गरेकी छन् । उनले भनिन् ,‘धनगढी घरमा हामी हरेक वर्ष गौराको पूजाअर्चना गर्दै आएका छौँ । यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएको छु ।’
शनिबारदेखि आफूले गौराको ब्रत बसेको बताउँदै उनले कार्य व्यस्तताका कारण यसपटक गौरा विसर्जन गर्न धनगढी पुगेको बताइन् । मन्त्री राणा दुई दिन धनगढीका विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ ।













