धनगढी- भीमदत्त राजमार्ग अन्तरगत कैलालीको चुरे गाउँपालिका–३ भासु भिर नजिकै जीप र हाइस एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन् ।
जोरायलबाट धनगढी तर्फ आउँदै गरेको कृष्णपुर नगरपालिका–९ का सुप्रिम रानाले चलाएको म १ च ४०७ नम्बरको जीप र धनगढीबाट डडेल्धुरा तर्फ जाँदै गरेको डडेल्धुराको गन्यापधुरा–१ का दशरथ भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००३४ नम्बरको विद्युतीय हाईस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।
सो दुर्घटनामा परी हाइसमा सवार कैलालीको चुरे गाउँपालिका–१ का २१ वर्षीय राकेश विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार घाइते विकको टाउँको र घुडामा चोट लागेको छ। उनको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हाइस र जीपमा सवार अन्य यात्रुहरू सकुसल रहेका र यात्रुहरुलाई अर्को गाडीमा गन्तव्यमा पठाइएको जनाइएको छ। दुबै सवारी साधनमा क्षति भइ नचल्ने भइ घटना स्थलमा रहेको तथा दुबै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।























