धनगढी- कैलालीमा लागतारको वर्षाका कारण आएको बाढीले छ सय परिवार प्रभावित भएका छन् । बुधबारदेखिकाे लगातार वर्षाले बिहीबारदेखि जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा उक्त परिवार विस्थापित भएका हुन् ।
जिल्लामा बाढीका कारण छ सय परिवारका दुई हजार सात सय ८२ जना प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
पथरिया, कटैनी, काँडालगायतका नदीमा आएको बाढीले जानकी गाउँपालिका–४ सुकम्वासी टोल, कैलारी गाउँपालिका–७ वसन्ता, जोशीपुर गाउँपालिका–३ भितरीया, कैलारी–५ मनिकापुर, भजनी नगरपालिका–८ र वडा नं. ३ का विभिन्न स्थान डुबानमा परेका उनले जानकारी दिए । बाढीबाट जिल्लामा एक महिला र एक पुरुष गरी दुई जना घाइते भएका,छ वटा कच्ची घरमा क्षति भएको तथा पाँच विगाहा जमीन कटान भएको उनले बताए ।
बाढीबाट प्रभावित एक सय ६२ घरका छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जानकी गाउँपालिका–४ स्थित उच्च सुरक्षित घरमा ३४,जानकी गाउँपालिका–७ फरेला स्थित उच्च सुरक्षित घरमा ९४,टिकापुर नगरपालिका–८ वनगाउँस्थित वडा कार्यालयले निर्माण गरेको उच्च सुरक्षित घरमा ४ सय , जोशीपुर गाउँपालिका–३ भितरियास्थित जनहित सामुदायिक वनको भवनमा ११ र भजनी नगरपालिका–९ कुणी खुरखरियास्थित गुप्तेश्वर आधारभूत विद्यालयमा ७७ जनालाई सारिएको सूचना अधिकारी जोशीले जानकारी दिए ।
कैलारी गाउँपालिका–५ स्थित सुरक्षित घरमा ८ , गोदावरी नगरपालिका–११ गणेश मन्दिरस्थित लालमणी पनेरुको घरमा ४, सोही गणेश टोलकी राधिका ढोली र मधुरा दमाईको घरमा ८ सारिएको जनाइएको छ ।














