धनगढी– कैलालीमा डेंगुको संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–६ की १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो । बालिका १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।
यसअघि धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको पनि डेंगुका कारण मृत्यु भएको थियो । शाहीको उपचारको क्रममा गत मंगलबार बिहान मृत्यु भएको थियो । पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप बढ्दै गएको छ । कैलालीलगायत सुदूरपश्चिमका अन्य जिल्लामा पनि डेंगुका बिरामी बढ्दै गएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी र रोग नियन्त्रण महाशाखाका अनुसार सुदूरपश्चिममा २०२२ सुरुदेखि सेप्टेम्बर ७ सम्ममा १६५ जनामा डेंगु भएको पुष्टि भएको छ । जसमध्ये कैलालीमा ४१, कञ्चनपुरमा ३२, अछाममा सात, डोटीमा १४, डडेल्धुरामा र बैतडीमा ९/९ जना डेंगुका बिरामी फेला परेका छन् । यस्तै, दार्चुलामा ३३ , बझाङ र बाजुरामा आठरआठ जना डेंगुका बिरामी फेला परेका छन् ।
स्वास्थ्यकर्मीका अनुसार मनिसमा एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरका अनुसार डेंगु संक्रमणपछि ज्वरो आउने, हाडजोर्नीहरू दुख्ने, रगतको मात्रा कम हुने र टाउको दुख्ने जस्ता समस्या देखा पर्ने गर्छन् । उनका अनुसार अहिले सेती अस्पतालमा दिनमा एक/दुई जनामा डेंगुको लक्षण देखिन थालेको छ ।













