काठमाडौं ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।हालै सरूवा तथा पदस्थापन भई आ-आफ्नो कार्यक्षेत्रमा खटिजान लागेका प्रहरी वरिष्ठ उपरीक्षकहरू र प्रहरी उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा उनले सो निर्देशन दिएका हुन ।
प्रहरी महानिरीक्षक कुँवरले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई लाग्न अनुरोध गरे ।
व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उनले बताए । ।
संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै उनले नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गर्दै आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गरी सोही अनुसार कामको थलनी गर्नु पर्दछ ।
त्यस्तै नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धिराज गुरूङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंह, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायत र प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र केसीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवम् निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिए ।























